एक वर्षको अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ६० प्रतिशतभन्दा
धेरैले बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्तमा ३१ लाख ११ हजार इन्टरनेट
प्रयोगकर्ता थिए । गत वर्षको अन्तमा यो संख्या बढेर ५० लाख ४३ हजार पुगेको छ
। एक वर्षको अवधिमा मोबाइलमा जीपीआरएस चलाउनेको संख्यामा उच्च वृद्धि
भएकाले समग्र इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । पुरानो प्रविधि डायलअपका
ग्राहक भने घटेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार एक वर्षमा प्रतिएक सय जनतामा थप ८ जनाले इन्टरनेट चलाउन थालेका
छन् । अघिल्लो आर्थिक वर्षको अन्तमा इन्टरनेट घनत्व १० दशमलव ८९ प्रतिशत
थियो । अहिले यो बढेर १८ दशमलव ९४ प्रतिशत पुगेको छ । जीपीआएर चलाउने
संख्या एक वर्षमा झन्डै दोब्बर भएको छ । गत आर्थिक वर्षसम्म २८ लाख ३०
हजारले जीपीआरएस चलाउँथे । अहिले यो बढेर ४६ लाख ८३ हजार पुगेको छ ।
मोबाइलका ग्राहक बढेकाले जीपीआरएस चलाउनेको संख्या पनि बढेको हो । मोबाइल
सेवा लिएपछि जीपीआरएस एक्टिभ गराउन सहज भएकाले यो संख्या वृद्धिमा सहयोग
पुगेको टेलिकम कम्पनीहरूले जनाएका छन् । बजारमा आएको इन्टरनेट मितव्ययी
नयाँ स्मार्ट फोनले पनि यसका ग्राहक बढाएका हुन् ।
अहिले मुख्य दुई दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले जीपीआरएस सेवा
दिइरहेका छन् । यसमा सबैभन्दा बढी जीपीआरएसका ग्राहक एनसेलका छन् ।
प्राधिकरणका अनुसार एनसेलका जीपीआरएस ग्राहक संख्या २८ लाख १३ हजार छन् ।
टेलिकमका जीपीआरएस ग्राहक संख्या १८ लाख ७० हजार छन् ।
प्राधिकरणको तथ्यांकले नयाँ प्रविधि भित्रँदै गर्दा इन्टरनेट सेवाका
पुराना प्रविधि पनि विस्तारै हट्दै गएको छ । केही वर्ष अगाडि धेरैले प्रयोग
गर्ने डायलअप सेवाका ग्राहक एक वर्षमा बढ्नुको साटो घटेको छ । अघिल्लो
आर्थिक वर्षसम्म २० हजार
(टेलिकमका ५ हजार ७ सय ४५ र आईएसपीका १४ हजार ६ सय १०) ले डायलअप सेवा
लिन्थे । गत आर्थिक वर्षको अन्तसम्ममा डाउलअप सेवा लिनेको संख्या १५ हजार
७९ (टेलिकम ४ हजार ५ सय ३२ र आईएसपीको १० हजार ५ सय ४७) छन् । सुस्त र
फोनको समेत पैसा बुझाउनुपर्ने भएकाले यसका ग्राहक घटेका हुन् ।
एक वर्षको अवधिमा वायरलेस मोडेम र अप्टिकल फाइवर अर्थनेटका ग्राहक बढेका
छन् । अघिल्लो आवमा यी सेवाका ग्राहक २२ हजार थिए । गत आवमा यो बढेर ४५
हजार पुगेको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले मात्र दिँदै आएको केवल
इन्टरनेटका ग्राहक वृद्धिदर भने सुस्त छ । अघिल्लो आवमा केबल इन्टरनेटका
ग्राहक १५ हजार ६ सय २९ रहेकोमा अहिले बढेर १७ हजार ९ सय ६८ पुगे । पछिल्लो
पटक लोकपि्रय बनेको एडीएसएल सेवाका ग्राहक संख्या एक वर्षमा झन्डै २५ हजार
थपिएर ९२ हजार पुगेका छन् । यो सेवा पुगेको राजधानीका साथै अन्य सहरमा
यसको माग उच्च छ । टेलिकमले यसको विस्तार आवश्यकताअनुसार गर्न सकेको छैन ।
नेपाल टेलिकम र यूटीएलले सीडीएमए प्रविधिबाट दिइरहेको इन्टरनेट ग्राहक
संख्या १ लाख ५४ हजारबाट बढेर १ लाख ८८ हजार पुगेका छन् ।
प्रकाशित मिति: २०६९ आश्विन ३ १०:१०(
कान्तिपुर)