सामसुङको नयाँ स्मार्टफोनमा के के विशेषता छन् ?

Wednesday
 साभार:- अनलाइन खबर
सामसुङ कम्पनीले उत्पादन गरेको नयाँ संस्करणको स्मार्टफोन ग्यालेक्सी एस थ्री आजदेखि नेपाली बजारमा आएको छ । गएको मे लण्डनमा सार्वजनिक गरिएको यो ग्याजेटलाई सामसुङ कम्पनीको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले नेपाली बजारमा ल्याएको हो । नेपाली बजारमा यसको मुल्य ६९ हजार तोकिएको छ ।
के के छन् ग्यालेक्सी एस थ्री का विशेषता ?
सामसङ कम्पनीको अघिल्लो संस्करणको स्मार्टफोन ग्यालेक्सी एसटू भन्दा यो फोन केही ठूलो छ । यसको ४ दशमलब ८ इन्च ठूलो स्क्रिन रहनुका साथै अन्य केही अत्याधुनिक विशेषता समेत रहेको बताइएको छ । यसमा स्मार्ट स्टे भनिने प्रविधिको उपयोग गरिएकाले खोलेपछि प्रयोगकर्ताले हेरुन्जेल स्क्रिन बन्द हुँदैन ।
यसको अर्को रोचक विशेषता भनेको एस भ्वाइस सेवा हो । वास्तवमा यो स्मार्टफोनमा प्रयोगकर्ताको आवाज मुताविक काम गर्ने एउटा सफ्टवेयर राखिएको हुन्छ । सो सफ्टवेयरले अलार्म अफ भन्ने जस्ता वाक्य बुझेर स्मार्टफोनमा लागेको अलार्म बन्द गर्छ । साथै कन्ट्याक्ट लिष्टमा भएको साथीलाई फोन गर्न अंग्रेजी भाषामा बोलेर निर्देशन दिएमा स्मार्टफोनमा भएको सफ्टवेयरले आफै फोन डायल गर्छ ।

यो स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जिबीको र्याम राखिएको छ भने ३२ जिबी सम्मको मेमोरी अटाउन सक्छ । गुगलको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टफोनको अर्को विशेषता भनेको मोबाइलमा फोन उठाउँदा कि प्याड थिच्नु पर्दैन । फोन कल आउँदा सेट कानमा लग्ने बित्तिकै फोन उठिहाल्छ । यो मोबाइल सेटमा ८ मेगापिक्सेलको क्यामेरा छ । यो स्मार्टफोनको अर्को फाइदा भनेको एकैपटक मोबाइल स्क्रिनमा दुइवटा काम गर्न सकिनु हो । स्क्रिनमा एकैपटक दुइवटा डिस्प्ले गर्न सकिन्छ । जस्तै कुनै इन्टरनेट साइट हेर्दै गर्दा अर्को भिडियो हेर्न मन लाग्यो भने पप अप प्ले मा भिडियो पनि हेर्न सकिन्छ । साथै यो स्मार्टफोनमा फेस अनलक नामको सेवा पनि उपलब्ध छ । जस अनुसार फोन सेटलाई खोल्न प्रयोगकर्ताको अनुहार प्रयोग गर्न सकिन्छ ।
कालो र निलो रंगमा उपलब्ध यो स्मार्टफोनमा प्लास्टिकको खोल छ । १ सय ३३ ग्राम तौलको यो फोनसेट ५.३८ इच्च लामो, २.७८ इन्च चौडा तथा ०.३४ इन्च मोटो छ । साथै यसले ४ जी नेटवर्कमा समेत काम गर्छ ।
सामसुङ ग्यालेक्सी एस थ्री का अन्य विशेषता निम्न छन् ः
१. एडोब फ्लास सफ्टवेयरमा भिडियो तथा आवाज प्ले गर्नसक्छ ।
२. कम्प्युटर तथा अन्य ग्याजेटमा प्रयोग हुने सामान्य युएसबी केबल प्रयो गरेर ब्याट्री चार्ज गर्न सकिन्छ ।
३. यसमा वायरलेस चार्जिङ सेवा छ । कुनैपनि प्लग वा तारबिना नै चार्जिङ गर्न सकिन्छ ।
४. यसको ब्याट्री फेर्न सकिने सुविधा छ साथै यसको ब्याट्रीको क्षमता पनि उच्च छ ।
५. यसबाट एचडिएमआइ सेवा छ । जस अन्तरगत स्मार्टफोनमा बजाइएका भिडियोहरु टेलिभिजनमार्फत हेर्न सकिन्छ ।


साभार:- अनलाइन खबर
Read more ...

नेपालमा पनि टेक्नो क्लास

Wednesday
नरेन्द्र रैले
techno classकाठमाडौ, असार १३ - सोच्नुस्, शिक्षकले एकोहोरो पढाइरहनु र विद्यार्थीले सुनेर बस्नु कति पट्यारलाग्दो होला ? निश्चय नै, कतिखेर क्लास छाडौं-छाडौं भैदिन्छ। झन् आफूलाई अप्ठ्यारो लाग्ने वा मन नलागेको विषय भए त पटक्कै ध्यानै जाँदैन। किनभने विद्यार्थीहरू त सधैं नयाँपनको खोजीमा हुन्छन्। 

त्यही नयाँपन दिन अचेल प्रायः कलेजले डिजिटल क्लासमा जोड दिन थालेका छन्। एकछिन ललितपुरको क्यास्पियन भ्याली कलेज पुगौं न, जहाँ टेक्नो क्लास हुन्छ। कलेजको आफ्नै ठूलो सेमिनार हलमा, डिजिटल माध्यमबाट फरक विषयको पढाइ हुन्छ। 'विद्यार्थीहरूमा निकै चासो बढेको छ' क्यास्पियन कलेजका राजेन्द्र बरालले भने, 'उनीहरूमा पढ्ने बानी बसेको छ।' विद्यार्थीहरू नौलो प्रविधिका माध्यमबाट पढ्न पाउदा उत्साहित छन्। 'पहिले नबुझेका कुरा सोधौं कि नसोधौं जस्तो हुन्थ्यो' प्लस टु मा अध्ययनरत लक्ष्मी पाठकले भनिन्, 'अहिले त निर्धक्क सोध्न सकिन्छ।'

डिजिटल क्लासमा शिक्षकले पनि अध्ययन गर्नुपर्छ। उत्तिकै तयारीमा जुट्नुपर्छ। यसरी खर्च गरिएको मेहनतले विद्यार्थीहरूमा सकारात्मक परिणाम ल्याएको छ। यता, गैरीगाउँस्थित नासा इन्टरनेसनल कलेजका विद्यार्थीहरूमा पनि डिजिटल क्लासले पढाइप्रति छुट्टै आकर्षण बढाएको छ। एकैचोटी अडियो, भिडियो र टेक्स्टको प्रदर्शनले पढाएको कुरा बुझ्न निकै सजिलो भएको छ। हरेक विषयको कुनै शीर्षकमा छलफल गर्नुपर्दा प्रोजेक्टरको प्रयोग गर्ने गरिएको छ। 'मल्टिमिडियाबिनाको पढाइ खल्लो लाग्छ।' आमसञ्चार तथा पत्रकारिताका शिक्षक विज्ञान शर्माले भने, 'एकैसाथ टेक्स्ट, भिडियो र अडियो प्रदर्शन गर्न पाउनुको मजा पनि बेग्लै छ।' शर्माले पत्रकारिताका कतिपय विषयवस्तु एवं सन्दर्भहरूमा प्रोजेक्टरकै माध्यमबाट विद्यार्थीहरूलाई पढाउँछन्। सैद्धान्तिकभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिँदा विद्यार्थीहरूले चाँडो सिक्छन् भन्ने उनको ठम्याइ छ। 

त्यही उद्देश्यले नासाका शिक्षक शर्माले आफ्ना विद्यार्थीहरूलाई पढाउन नियमित रूपमा प्रोजेक्टरकै सहायता लिन्छन्। उनले गत साता क्लासमा पढाउँदाको सम्झना गरे, फोटोग्राफी विषय पढाउने क्रममा विश्वका चर्चित तस्बिरहरू जसले पुलिट्जर पुरस्कारसमेत पाए, ती तस्बिर, फोटोग्राफर र तस्बिर खिच्दाको क्षणका बारेमा जान्न पाउँदा विद्यार्थीहरू चकित भए। 'फोटोग्राफरले लिनुपर्ने जोखिमका बारेमा राम्रैसँग थाहा भयो', प्लस टुमा अध्ययनरत सविन राईले भने। विद्यार्थीहरूको आकषर्ण नै छुट्टै बढेको छ। डिजिटल क्लासको वातावरण नै बेग्लै छ।  'अरू क्लासभन्दा धेरै प्रभावकारी लाग्यो', नासाकै विजया दुवालले भनिन्, 'अडियो, भिजुअलका माध्यमबाट पढ्न पाउदा पढाएको कुरा चाँडै बुझिने रहेछ।' विज्ञानमा त झन् यसको प्रयोग अपरिहार्य भएको उनी मान्छिन्। उनी संसारमा भएका खोज, अनुसन्धानहरूका बारेमा सिकाउन आवश्यक मान्छिन्।

डिजिटल क्लास महँगो र खर्चिलो भने छ। कलेजहरूले डिजिटल क्लासका लागि प्रोजेक्टर र अन्य उपकरणमा ५० हजारदेखि झन्डै १ लाखसम्म खर्च गरेका छन्। केही महँगो भए पनि यतिबेला यो प्रविधि अहिले आवश्यकता नै भैसकेको छ। नासामा अंग्रेजी प्राध्यापन गर्ने मधु तोदी अब मोबाइलमै प्रोजेक्टर भएको सेट किन्ने तरखरमा छिन्। 'प्रोजेक्टर बोक्न झ्याउ हुन्छ।' मधुले भनिन्, 'मोवाइलमै यो सुविधा भए विद्यार्थीहरूलाई बुझाउन सजिलो हुन्छ।' कुनै उपन्यास पढाउनु पर्दा भिडियोकै माध्यमबाट पढाउन सके पढाउन सजिलो हुन्छ भन्ने मधुको बुझाइ छ। पेन्टागन कलेज र क्याम्पियन कलेजले पनि डिजिटल क्लासमा जोड दिएका छन्। विद्यार्थीहरूको माग निकै बढेको बताउँछन्, क्याम्पियन कलेजका पि्रन्सिपल भूषण गुरुङ। 'यो प्रविधिले विद्यार्थी र शिक्षक दुवैलाई पढ्न, पढाउन निकै सजिलो बनाइदिएको छ।' गुरुङले बताए। 

डिजिटल क्लाससँगै इ-लाइब्रेरीले पनि उत्तिकै लोकपि्रयता कमाएको छ। क्यास्पियन कलेजका राजेन्द्र बराल यसको उपयोगिताबाट निकै हौसिएका छन्। क्यास्पियनमा अध्ययनरत कुनै पनि विद्यार्थी घर, कलेज वा रेस्टुराँमा बसेर कोर्सबुक पढ्न सक्छन्। वाइफाइयुक्त मोवाइल, ल्यापटपमा पासवर्ड राख्नेबित्तिकै आफूले चाहेको किताब पढ्न सक्ने व्यवस्था मिलाइएको छ। 'किताब बोकिरहनुपर्ने झन्झटबाट विद्यार्थीहरू मुक्त छन्।' बरालले भने। परम्परागत पुस्तकालयभन्दा इ-लाइब्रेरीका प्रयोगकर्ताहरू बढ्दै गएकोमा उनी उत्साही भएका हुन्। यसले पढ्ने संस्कृतिमा बृद्धि गरेको उनको अनुभव छ। कलेजले चाहिएको किताब सिडीमा लान सकिने व्यवस्था गरेको छ। विदेशमा जस्तो आई टेक्नोलोजी नभए पनि इ-लाइब्रेरीको स्थापना सकारात्मक भएको नासा विज्ञान शर्माले बताए। नासामा ल्यापटप बोकेर आउने विद्यार्थीहरू वाइफाइको सुविधा लिन सक्छन्। आफुलाई अप्ठ्यारा लागेका विषयमा इन्टरनेट सर्च गर्न सक्छन्। टेक्नो क्लासले गर्दा विद्यार्थीहरूले नयाँपनको अनुभूति गरेका छन्। यसले शिक्षामा नयाँ क्षितिज देखाएको छ।
प्रकाशित मिति: २०६९ असार १३ १२:३७(इकान्तिपुर)
Read more ...

राजधानीबाट आइसिटी म्यागजिन सुरु

Sunday

१ वर्ष अगाडीदेखि मोफसलको बिराटनगरबाट प्रकाशित हुँदै आइरहेको मासिक सूचना प्रविधि विशेष पत्रिका लिभिङ विथ आइसिटी अबदेखि राजधानीबाट प्रकाशित हुने भएको छ । अनामनगर काठमाडौंमा आज एक कार्यक्रमकाबीच उक्त पत्रिकाको विमोचन गरिएको छ ।

विमोचनमा युवा नेता गगन थापा, प्रो. डा सुवर्ण शाक्य, नेपालका पहिलो कम्प्युटर बैज्ञानिक मुनि बहादुर शाक्य, पूर्व मन्त्रि गणेश शाह, प्रधानमन्त्री कार्यालयका आईटी निर्देशक इ. मुकेश रेग्मीले र क्यान सचिव अमृत पन्त र सामुहिक रुपमा विमोचन गर्नुभएको छ । उक्त कार्यक्रमका लिभिङ विथ आईटी डटकम नामक अनलाईन पोर्टलको पनि समुद्घाटन गरिएको छ । यस अनलाईन पोर्टलले सूचना र प्रविधि क्षेत्रमा दैनिक घट्ने घटनाहरुलाई अपडेट गर्ने कुरा उक्त पत्रिकाका सम्पादक राजन लम्सालले जनाएका छन् ।

सरकारी कामहरुमा पारदर्शीता ल्याउनको लागि र भष्टचार नियन्त्रण गर्नको लागि प्रविधिले धेरै नै सहयोग गर्ने हुनाले सरकारले यसतर्फ विशेष जोडदिनुपर्ने कुरा युवा नेता गगन थापाले बताएका छन् । वनेपामा बनेको आईटीपार्कलाई पनि सञ्चालनमा ल्याउन सकिएको छैन । नेपालमा सूचना प्रविधीको क्षेत्रमा धेरै नै चुनौतीहरु रहेको कुरा कम्प्युटर बैज्ञानिक मुनि बहादुर शाक्यले बताए । प्रा.डा. मुनि वहादुर शाक्यले ग्रामिण क्षेत्रमा कम्प्युटर शिक्षा सूचना प्रविधिको ज्ञान बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।
विभिन्न विधाका पत्रिका र म्यागजिनको संख्या बढीरहेको समयमा पनि सूचना प्रविधी क्षेत्रसँग सम्वन्धित पत्रिकाहरु बढ्न नसकेको अवस्थामा यसले नेपालको सूचना प्रविधिको प्रयोगलाई बढाउन सक्दो सहयोग पुर्याउनुपर्ने कुरा उक्त कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् ।
Read more ...

बैंकलाई मोबाइलमा अटाउने तयारी

Sunday
काठमाडौं, असार ६ - ग्राहकलाई मोबाइलबाटै अधिकांश बैंकिङ कारोबार गर्न सक्ने सुविधा दिन चार वाणिज्य बैंक र एक फाइनान्स कम्पनीले काम अघि बढाएका छन् । लक्ष्मी, बैंक अफ काठमाडौं, सिद्धार्थ र कमर्ज एन्ड ट्रस्ट बैंकसँगै इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीले यस्तो सेवा सुरु गर्न लागेका हुन् ।
यो सेवाबाट ग्राहकले एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण, निक्षेप राख्ने र झिक्ने लगायत काम गर्न सक्छन् ।
यी सबै सुविधा पहिलो चरणमै उपलब्ध भने हुने छैनन् । यस्तो सेवाका लागि यी संस्थाले फिनासेस नामक कम्पनीसँग सम्झौता गरेका छन् ।
'एक बैंकबाट अर्कोमा रकम पठाउने सुविधा पहिलो पटक मोबाइलबाटै सम्भव हुने भएको छ,' फिनासेसका संजय शाहले भने, 'बैंकहरूले थप सुविधा बढाउँदै लैजान सक्छन् ।'
मोबाइलबाट हुने यस्तो कारोबार सेवालाई हेलो पैसाको ब्रान्ड नाम दिइएको छ । यसअघि मोबाइलबाट केही बैंकका ग्राहकले साधारण सेवा मात्र उपभोग गर्न पाउँथे । कम्पनीले प्रतिसेकेन्ड ५० वटा कारोबार गर्न सकिने क्षमता रहेको जनाएको छ । 'कारोबार बढ्दै गएपछि यसलाई वृद्धि गर्न सकिन्छ,' शाहले भने ।
मोबाइलबाट यस्तो सेवा उपभोग गर्न जुनसुकै कम्पनीको सिम प्रयोग गर्न सकिने साहले बताए । कम्पनीले अन्तर्राष्ट्रिय अध्ययनबाट स्वदेशी सफ्टवेयर निर्माण गरेर सेवा उपलब्ध गराएको जनाएको छ । 'शुल्क, सेवा, मुलुकको बैंकिङ प्रणालीको आवश्यकता लगायत कारण विदेशी सफ्टवेयर प्रयोग गर्नभन्दा आफ्नै निर्माणमा लागेका हौं,' शाहले भने ।
मोबाइलबाट कारोबार गर्न सकिने सफट्वेयरलाई बैंकहरूले आफ्नो प्रणालीमा जोड्छन् । त्यसपछि बैंकहरूले मोबाइलबाटै गर्न सकिने कारोबारका सेवा ग्राहकलाई उपलब्ध गराउँछन् । यस्तो सेवामा मोबाइललाई 'वालेट' का रूपमा प्रयोग गरिन्छ । कम्पनीका अनुसार लक्ष्मी बैंकले सिन्धुपाल्चोकमा यसको परीक्षण गरिरहेको छ ।
विभिन्न मुलुकमा मोबाइलबाट बिभिन्न बैंकिङ कारोबार गर्ने सेवा सुरु गरिएको छ । यस्तो सेवामा बैंकले विभिन्न एजेन्ट नियुक्त गर्ने गर्छ । यस्ता एजेन्टले निक्षेप झिक्न र राख्न सहयोग गर्छन् । यसका साथै मोबाइलबाटै शुल्क भुक्तानी गर्न सकिने सेवा पनि सुरु गर्न सकिन्छ ।
फिनासेसले बैंकलाई मोबाइल बैंकिङको प्लाटर्फम उपलब्ध गराउने र व्यावसायिक मोडल तयार गर्ने काम गरिरहेको उल्लेख गरेको छ । सेवा उपलब्ध गराए पनि कारोबारको सबै जानकारी र जिम्मा भने सम्बन्धित बैंकसँगै हुन्छ । वित्तीय सेवा विस्तारमा मोबाइल बैंकिङले सहयोग गर्ने कम्पनीले जनाएको छ । 'यो सेवा चेककै अर्को रूप हो भनेर बुझ्न सकिन्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करणणि ज्ञवालीले भने, 'भुक्तानी लगायत सेवा सजिलो बनाउन यसको प्रयोग गरिन्छ ।'
मोबाइल बैंकिङबाट बैंक नपुगी सेवा लिन सकिने उनले बताए । 'हामीले यस्ता सेवालाई अनुमति दिइरहेका छौं,' उनले भने, 'यसबारे छिट्टै निर्देशन जारी गर्ने तयारीमा छौं ।'

प्रकाशित मिति: २०६९ असार ६ ०९:०८ (कान्तिपुर)
Read more ...