अनाथलाई खाना फेसबुकले गर्दा

Friday

उपेन्द्र लामिछाने, काठमाडौं, -  रीमा दिदीको एउटा खुट्टा नै रैनछ। त्यसैले धेरै दुःख पाउनुभएको रहेछ। बाबाममी कोही पनि नभएकाले उहाँ अनाथालयमा बस्नुहुँदो रहेछ।  रीमा दिदीको उपचार गर्न पाए कति रमाइलो हुन्थ्यो तर पैसा नै छैन। मैले त मेरो खुत्रुके फुटाएर २०० दिन्छु, हजुरहरू पनि सहयोग गर्दिनु न है प्लिज...।- हजुरहरूकी प्यारी अदीति

लैनचौरकी ७ वर्षे अदीति पौडेलले बाबा हरिरामको फेसबुकमा गरेको अपिल यति प्रभावकारी हुन्छ भन्ने सोचेकै थिइनन्। तर बाबाकै सहयोगले यस्तो अपिल पोस्ट गरेको भोलिपल्टैदेखि अर्थात गत मंगलबारदेखि रीमाका लागि मात्र हैन, अन्य १३ जना अनाथका लागि पनि खाना जुटाएको छ। काठमाडौं काँडाघारीस्थित सृजनशील बाल सेवा परिवारमा आश्रित बालबालिका अहिले ती अदीतिप्रति यही कारण आभारी छन्।

बायाँ खुट्टाको चल्ने शक्ति गुमाएपछि ५ वर्षकै उमेरमा आमाबुबाबाट तिरस्कृत ९ वर्षे रीमा पुरीलाई भेट्न बाबु हरिराम पौडेलको साथ पुगेकी अदीतिले त्यहाँबाट फर्केपछि रीमा र उनका साथीको अवस्था चित्रण गर्दै फेसबुकमार्फत सहयोग गरेकी थिइन्। जुन सहयोगको खाता उनले आफैंले खुत्रुकेमा जम्मा भएको पैसा दिएर खोलेकी थिइन्।
'न्युयोर्क बस्नुहुने साहित्यकार गीता पन्थले एक सय अमेरिकी डलर मासिक रूपमा पठाउने लिखित प्रतिबद्धता जाहेर गर्नुभएको छ,' हरिरामले भने, 'योभन्दा अगाडि पनि रीमा पुरीको उपचारका लागि ८ हजार ५ सय उहाँबाट प्राप्त भइसकेको छ।'
त्यसैगरी गजलकार रवि प्राञ्जलले रीमा र उनी बस्ने संस्थाको सहयोगका लागि १० हजार सहयोग गरेका छन् भने उनको अपिल पढेर अर्का गजलकार आनन्द श्रेष्ठले १ हजार, कतारमा रहेका विक्रम डोटेल र कुमार सुब्बाले ५ हजार २२, कुमार रेग्मीले ८ हजार ४ सय, बानेश्वर क्याम्पस मानविकी संकायका विद्यार्थीको तर्फबाट २ हजार ९ सय र अन्यबाट गरी ३४ हजार ५ सय रुपियाँ जम्मा भइसकेको हरिरामले जनाए। 'सहयोग आउने क्रम जारी छ,' उनले भने, 'हामी पारदर्शी तवरले सबै रकम उनलाई हस्तान्तरण गर्दैछौं।'
यसअघि उनीआबद्ध लिस्नर्स क्लबले ७८ हजार हस्तान्तरण गरिसकेको छ। उनीबारे नागरिकमा समाचार आएपछि यसअघि नै पोखरास्थित एक अस्पतालले उनलाई कृत्रिम खुट्टा जडान गरिदिने जनाइसकेको छ।
गएको शनिबार काँडाघारी पुगेकी अदीतिले रीमा पुरीले गाएको 'कति बसौं पीरमाथि पीर सहेर, अहिलेसम्म रोएरै बाँच्या छु बालकमै बाबा गएर' बोलको गीत सुनेकी थिइन्। 'त्यहाँबाट फर्केलगत्तै उनले आफ्नो खुत्रुके फोरेर २ सय रुपियाँ रीमालाई दिन भनिन्,' अदीतिकी आमा विकलाले भनिन्, 'अनि बाबालाई भनेर फेसबुकमा पनि अपिल गरिन्। अहिले सहयोगी बढेपछि अदीति निकै खुसी छे।'
अदीति आफू र आफूलाई आश्रय दिने संस्थाका लागि सहयोग जुटाउन लागिपरेकामा रीमा पनि कम्ता खुसी छैनन्। उनले भनिन्, 'सानो बच्चाले पनि ठूलो काम गर्न सक्छन् भनेको यही रहेछ।' आश्रम सञ्चालिका उमादेवी बस्नेतले पनि एउटी सानी नानीको अपिलले अनाथालयमा बस्ने १४ बालबालिकाको पेट भरिने स्थिति आउनु चानचुने नभएको बताइन्।
सा भार:- नागरिक न्युज डट कम

No comments:

Post a Comment