Live WWDC 17 - Apple WWDC 2017 Keynote - iOS 11, macOS 10.13, watchOS 4, NEW iPad Pro, Siri Update

Live LocalElection 2074

Nepali Unicode Converter

Dobbar Paisa Back

आजदेखि मोबाइलबाटै क्यानको जानकारी

Tuesday
अवलोकनकर्ताले आजदेखि आफ्नो मोबाइलबाटै यसपटकको क्यान इन्फोटेकको जानकारी हासिल गर्न सक्ने भएका छन्। सूचना प्रविधि मेला इन्फोटेकको आयोजक कम्प्युटर एसोसिएन अफ नेपाल(क्यान) को सहकार्यमा नेपवेज प्रालिले ग्राहकले मोबाइलबाटै मेलाको जानकारी पाउने व्यवस्था मिलाएको हो। मंगलबारबाट अवलोकनकर्ताले इन्फोटेकमा राखिएका विभिन्न कम्पनीका स्टलहरु र स्टलमा राखिने उपकरण एवं सेवाको जानकारी हासिल गर्न सक्ने भएका हुन्। नेपवेजले विकास गरेको 'एन-लोकेट' नामक स्मार्टफोन एप्समार्फत अपलोकनकर्ताले यस्तो जानकारी पाउने छन्।

क्यान इन्फोटेकको जानकारी लिन अवलोकनकर्ताले प्रयोग गर्ने मोबाइल भने स्मार्टफोन हुनुपर्नेछ। एप्पल र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोनमा यो सुविधा उपलब्ध हुने नेपवेजका प्रमुख कार्यकारी अधिकृत दीपेन चापागाईले बताए। 'अहिले हामीले कम्पनीहरु, क्यानमा उनीहरु रहने स्टल र त्यहा राखिने सामग्रीको बारेमा मात्र जानकारी राखेका छौ,' उनले भने, 'चाडै स्टलमा राखिने सामग्रीका तस्विरहरु पनि राख्दैछौ।'

सूचनाप्रविधि सम्बन्धी सबैभन्दा ठूलो मेलाकोरुपमा चिनिएको क्यान इन्फोटेकमा सूचनाप्रविधिको प्रयोगलाई बढाउन यस्तो सुविधा सुरु गरिएको उनले बताए। 'यसले सबैलाई सूचनाप्रविधि प्रयोगतर्फ आकर्षित गर्नेछ,' उनले भने, 'समय कम हुनेलाई सजिलो पनि हुनेछ।'

स्मार्टफोन प्रयोग नगर्ने ग्राहकले पनि प्रदर्शनी गरिने सामान तथा सेवाको बारेमा एसएमएसमार्फत जानकारी पाउने छन्। यसका लागि ग्राहकले म्यासेज बक्समार्फत 'क्यान' लेखेर स्पेस दिई आफुले चाहेको सामान वा ब्रान्डको नाम टाइप गरी ५००१ पठाउन सक्नेछन्। स्प्यारो एसएमएससँगको सहकार्यमा यो सेवा सुरु गरिएको हो।

मोबाइलमार्फत स्टलहरुको जानकारीसँगै क्यानले ई-सेवासँगको सहकार्यमा अवलोकनकर्तालाई घरैमा बसेर टिकट किन्न सक्ने सुविधा पनि दिएको छ। 'समय कम हुने र व्यस्त अवलोकनकर्तालाई लक्षित गरि यो सेवा सुरु गरिएको हो,' क्यानका महासचिव अमृतकुमार पन्तले भने, 'मंगलबारबाटै यो सेवा पनि सुरु भएको छ।' सेवा सुरु भएपछि अवलोकनकर्ताले 'क्यानडट ओआरजी डटएनपी' र 'क्यानइन्फोटेक डटओआरजी डटएनपी' वेवसाइट मार्फत लगअन गरि टिकट किन्न सक्ने भएका छन्। यसका लागि अवलोकनकर्ताको ई-सेवा वा ई-सेवासँग सहकार्य गरिरहेका बैंकहरुमा आफ्नो खाता हुनुपर्नेछ। अनलाइनमार्फत टिकट किन्दा अवलोकनकर्ताले २० प्रतिशत छुट पाउने छन्।

'अनलाइनबाट खरिद गरेको टिकट प्रिन्ट गरेर ल्याई मेला अवलोकन गर्न सकिने छ,' पन्तले भने, 'यसले टिकटका लागि हुने भिडभाड पनि कम हुनेछ।' राजधानीको भृकुटीमण्डपमा आगामी माघ २४ देखि २९ गतेसम्म हुने क्यान इन्फोटेकको १९ औ संस्करणमा विभिन्न कम्पनीले नयाँ-नयाँ सूचनाप्रविधि सम्बन्धी सामग्री प्रदर्शन गरिने छन्। यसपटकको क्यान इन्फोटेकको शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज् रहेको छ। आयोजकले यसपटकको प्रदर्शनीलाई 'मिदास क्यान इन्फोटेक-२०१३' नामाकरण गरेर सञ्चालन गर्ने भएका छन्।

यसपटकको प्रदर्शनीमा ४ लाख ५० हजार भन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ। साधारण अवलोकनकर्तालाई एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको क्यान इन्फोटेकमा विद्यार्थीलाई भने ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। माघ २८ गतेलाई 'बिजनेस डे'कोरुपमा क्यानले घोषणा गरेको छ। यसदिन पनि प्रवेश शुल्क एक सय रुपैयाँ नै तोकिएको छ। प्रदर्शनीमा सरकारी विद्यालयबाट अग्रीम लिखित अनुरोध सहित आएका विद्यार्थीलाई प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रदर्शनीमा हलभित्र ३९ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष, हल बाहिर एउटा ब्रान्डिङ प्रदर्शनी कक्ष, ट्रसमा १ सय ४४ वटा, ओपन स्पेस १३ वटा, वालमा ७ वटा र फुड स्टल १५ गरी जम्मा २ सय १९ वटा स्टल रहनेछन्। क्यान ईन्फोटेककौ अवसरमा यसपटक भने ई-डेमोक्रेसी शिर्षकमा १३ औं सूचना प्रविधि सम्मेलन हुनेछ। क्यान इन्फोटेकको बिचमा माघ २६ र २७ गते होटेल याक एन्ड यतीमा क्यान र इन्टरनेट सोसाइटी नेपाल च्याप्टरको संयुक्त आयोजनामा सम्मेलन हुनेछ।
http://nagariknews.com/infotech/52756-2013-01-28-14-18-40.html

No comments:

Post a Comment