अपराध अनुसन्धानमा सफलता फेसबुकले

Wednesday
केपी ढुंगाना(लेखक),  नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्तासँगै पीडक संख्या पनि बढ्दो छ। सर्वसाधारणमात्रै हैन, उच्च तहका सरकारी अधिकारी र प्रहरीलाई समेत हैरान बनाएको छ फेसबुक लगायतका सामाजिक सञ्जालले। सोसियल बेकर्स डट कमका अनुसार नेपाली फेसबुक प्रयोगकर्ताको संख्या १७ लाख बढी छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख देवेन्द्र सुवेदी महाशाखाको साइबरक्राइममा आएका उजुरीमध्ये सोसल नेटवर्क सम्बन्धी ३२ वटा छन्। तीमध्ये अधिकांश उजुरी फेसबुक सम्बन्धी छन्।

जटिल अनुसन्धान प्रकृयाका कारण फेसबुक लगायतका सामाजिक सञ्जाल सम्बन्धी आउने उजुरीले प्रहरीलाई समेत दिक्क बनाउने शब्द बनिसकेको अवस्थामा केन्द्रिय अनुसन्धान व्युरोले भने फेसबुककै सहयोगमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान सफल बनाएको छ।
इन्जीनियरिङ अध्ययन संस्थान पुल्चोकको प्रवेश परिक्षाको प्रश्नपत्र लिक गर्ने समूहलाई व्युरोले फेसबुकको सहयोगको पक्राउ गर्न सफल भएको हो। उसले फेसबुकको सहयोगमा प्रश्नपत्र बिक्रीमा संलग्न समूहको पहिचान गर्दै १४ जनालाई पक्राउनै गरेको छ।

प्रहरीले प्रश्नपत्र लिक गरी बिक्री गरेको अभियोगमा सिद्धार्थ लामा, लोकेन्द्र विष्ट, किशोर विष्ट, रविन पोखरेल, किशोर विष्ट, रविन पोखरेल, वीरेन्द्र साह, मदन मण्डल, मनोज यादव, शिव सागर यादव, राम विनय मण्डल, अमितकुमार यादव, राजिव चौलागाई, राजकुमार राउत, करण चौरसिया र निरज चौधरी पक्राउ परेका छन्।

घटनामा संलग्न कृष्ण झा र प्रमोद यादव फरार छन्। एक कपी प्रश्नपत्र प्रमोदले समेत बिक्री गर्न लिएको खुले पनि उनी पक्राउ नपरेकाले उनले प्रश्नपत्र क-कसलाई बेचे भन्ने खुल्न सकेको छैन।

व्युरोका प्रहरी अधिकारीले फेसबुकको समूहमा राखिएको प्रश्नपत्र सम्बन्धी अडियो क्लिपका आधारमा अनुसन्धान अगाडि बढाउँदा प्रश्न पत्र लिक गर्ने र बिक्री गर्ने आपराधिक घटनामा संलग्नहरुको पहिचान गर्न सकेको हो।

व्युरोका प्रमुख उपेन्द्रकान्त अर्यालले मंगलबार अनुसन्धान विवरण सार्वजनिक गर्दै 'फेसबुकमा प्रश्नपत्र पढेको अडियो क्लिप भेटिएपछि त्यसैको आधारमा घटनामा संलग्न अभियुक्त पक्राउ गर्न सफल भएको बताए।

प्रहरीका अनुसार विद्यार्थीले सजिलोका लागी फेसबुकमा गु्रप पेज बनाएर परीक्षाको दिन साउन २७ गते बिहानै त्यसमा प्रश्न पत्र पढेको क्लिप राखेका थिए। सोही क्लिपको आधारमा परीक्षामा सहभागी हुने विद्यार्थीले अडियो क्लिप डाउनलोड गरेर सुनेर आठ बजे भएको परिक्षामा सहभागी भएका थिए।

तर, केही दिनमै प्रश्नपत्र बाहिरिएको पुष्टी भएपछि क्याम्पसले करिव १० हजार सात सय विद्यार्थीको परीक्षा रद्द गर्दै अनुसन्धानका लागि व्युरोलाई आग्रह गरेका थिए।

यसरी फैलियो प्रश्नपत्र
व्युरोका अनुसार फेसबुकमा रहेको नेभर माइन्ड समूहमा अडियो क्लिप सार्वजनिक भएको अनुसन्धान गर्दा परिक्षार्थी निरज चौधरी शंकाको घेरामा परेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले परिक्षाको अघिल्लो दिननै सो अडियो क्लिप डाउनलोड गरेको स्विकार गरे पनि अनुसन्धानको बाटो खुलेको थियो।

इन्जीनियरिङ अध्ययन संस्थानको प्रश्नपत्र सानेपामा रहेको सिग्मा प्रेसले छाप्ने गरेको थियो। त्रिचन्द्र कलेजमा अध्ययनरत लोकेन्द्र विष्टले सोही प्रेसमा काम गर्दै आएका थिए। इन्जिनियरिङ कलेजको प्रवेश परिक्षाको प्रश्न छापिने गरेको चाल पाएका उनले मेसिन अपरेटर सिदार्थ लामालाई प्रश्न पत्र बिक्री गर्दा निकै आम्दानी हुन्छ भन्दै प्रश्न छाप्ने समयमा एक कपी लुकाउन हौस्याएका थिए।

प्रहरीका अनुसार २८ गते हुने प्रश्नपत्र २४ गते लिक भइसकेको थियो। प्रश्न छापिने समयमा क्याम्पसका प्रतिनिधि निरीक्षणका लागी प्रेसमै बस्ने भएकाले गाह्रो हुने भएपछि उनले एककपी प्रश्नपत्र काम नलाग्ने कागजजस्तो पोको पारेर मेसिनमुनि फ्याकेर लोकेन्द्रलाई दिएका थिए।
व्युरोका डिआइजी अर्यालका अनुसार उनीहरूले सबै प्रश्न पत्र लिक गर्न सकेका थिएनन्। प्रश्न नम्बर १९ देखि ५६ र ९२ देखि १ सय १४ नम्बरका प्रश्न लिक भएको अनुसन्धानमा खुलेको अर्यालले बताए।

अनुसन्धान अधिकारीका अनुसार लोकेन्द्रले होलिभिजन स्कुलका खेलकुद शिक्षक किशोरलाई प्रश्नपत्र दिएपछि उनले खरिदकर्ताको खोजी गरेका थिए। उनले अर्का खेलकुद शिक्षक रविन पोखरेललाई प्रश्नपत्र दिएपछि उनले बिक्रीका लागि एभरेष्ट कलेजमा बिबिए पढ्दै गरेका वीरेन्द्र साहलाई दिएका थिए।

प्रहरीका अनुसार वीरेन्द्रले ५० हजारमा इन्जीनिरिङ कलेजका विद्यार्थी मदन मण्डललाई बिक्री गरे। उनले र बिइका परिक्षार्थी प्रमोद यादवलाई समेत प्रश्नपत्र दिएका थिए। वीरेन्द्रले सो रकममध्ये ३० हजार रविन पोखरेललाई दिएका थिए। रविनले २० हजार किशोर विष्टलाई दिएको खुलेको डिआइजी अर्यालले बताए।

मदन मण्डलले मनोज यादव, मनोजले शिव सागर यादव र शिवले अमितकुमार यादव, राजिव चौलागाई र कृष्ण झालाई प्रश्न पत्र दिएको खुलेको छ। अमित मार्फत राजकुमार राउत, करण चौरसिया र निरज चौधरीसम्म प्रश्न पत्र पुगेको थियो।

२६ गते अमितकुमार यादव र रामविनय मण्डललगायतकालाई शिव सागर यादवले बिई र बिआर्चको प्रश्नपत्र आफूसँग रहेको भन्दै १५ हजार माग गरेका थिए। प्रहरीका अनुसार शिवसागरले कृष्ण झालाई प्रश्नपत्र बेचेर १५ हजार लिएका थिए।

राजकुमार राउतले १५ हजार दिने सर्तमा प्रश्नपत्र मेलबाट मागेका थिए। उनीहरुले मोवाइलबाट प्रश्नपत्रको तस्विर खिचेर पठाउने प्रयास गर्दा नगएपछि राम विनय मण्डलले राजीव चौलागाईको मोवाइलमा रहेको प्रश्नपत्र पढेर राउतलाई सुनाएका थिए। उता, राउतले भने सो रेकर्ड गरेका थिए।

व्युरो प्रमुख अर्यालका अनुसार करण चौरसियाले सो अडियो क्लिप राजकुमार राउतको मोबाइलबाट आफ्नो मोबाइलमा सारेर फेसबुकमा राखेका थिए।

क्याम्पसका डिन भरतराज पहाडीले प्रश्नपत्रको सुरक्षाका लागि क्याक्पसका निरीक्षक प्रेसमै बसेर प्रश्न छाप्ने गरे पनि झुक्याएर प्रश्नपत्र बाहिरिएको बताए। उनले प्रश्नपत्र लिक गर्न संलग्न देखिएकालाई अब परीक्षामा सहभागी नगराउने र तत्काल बोर्ड बैठक बसेर अर्को परीक्षाको मिति तोक्ने बताए।

प्रश्नपत्र छपाइका लागी सरकारले सेक्युरिटी प्रेसकै व्यवस्था गरेको भए पनि सोबारे आफूलाई जानकारी नभएको डिनको तर्क थियो। उनले क्याम्पसको बोर्डले प्रेसको चयन गर्ने र सोबारे आफूलाई समेत जानकारी नहुने दावी गर्दै यसमा केही त्रुटी भएकाले अब भने सेक्युरिटी प्रेसमा छाप्ने बताए।

प्रश्नपत्र लिक गरेर १० हजार विद्यार्थीको भविष्यमाथी खेलवाड भए पनि पक्राउ परेकाहरूमाथि सार्वजनिक अपराध ऐन अर्न्तगत मात्रै कार्वाही हुने भएको छ। प्रश्न कानुनी व्यवस्थाको अभावमा गम्भीर प्रकृतिको अपराधमा पनि सार्वजनिक अपराधजस्तो फितलो कानुन लगाउनुपर्ने बाध्यता रहेको बताउँदै अर्यालले भने 'यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौं।'

स्रोत:- नागरिक न्युज  डट कम

No comments:

Post a Comment