यस्ता छन सफ्टेक २०१२ का आकर्षण

Saturday

आयोजक उही कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)। स्थान र विशेषतामा भने भारी अन्तर। हरेक वर्ष माघमा हुँदै आएको क्यान इन्फोटेकमा पाइला राख्ने ठाउँ समेत हुँदैन। तर भदौमा हुँदै आएको क्यान सफ्टेक भने निकै होलो देखिन्छ।   जति सहभागी आएका छन् नेपालमा बनेका सफ्टवयर र प्रविधिबारे बुझ्न चाहनेकै उपस्थिती छ। आयोजकका शव्दमा गुणस्तरीय अवलोकनकर्ताको उपस्थिती अपेक्षा अनुसारकै छ।

'त्यो मेला र यो मेलाको प्रकृति र लक्षित समूहनै फरक छ,' क्यानका सचिव अमृत पन्त भन्छन्। माघको इन्फोटेकमा नयाँ र पुराना सबै प्रविधिका सामानहरु हुन्छन्। त्यसबेला किन्न र हेर्ने उद्वेश्यले जिज्ञासुहरुको भीड हुन्छ।
सफ्टेकमा भने देखिने र तात्तानै किनिहाल्ने वस्तुहरु छैनन्। मेलामा प्रविधिलाई सजिलो बनाउनको लागि सहयोगी चिज छन्। 'झट्ट हेर्दा सफ्टवयर देखिने चिज होइन, जसले चलाउँछ त्यसले मात्र महसुस गर्न सक्ने खालको हो,' पन्त सफ्टेकको महत्व उल्लेख गर्दै भन्छन्।

त्रिपुरेश्वरस्थित वर्ल्डट्रेड सेन्टरको चौथो तल्लामा विहीबारदेखि भइरहेको सफ्टेक पाँचौ संस्करण हो। यसअघि यस्तै खालको सफ्टेक चार पटक भैसकेको छ। 'नेपालीले बनाएका सफ्टवयरलाई बाहिर जनसमक्ष ल्याउने र जेन्यूइन सफ्टवयरको प्रयोग गर्न बल पुर्‍याउन यो मेलाले सहयोग पुर्‍याउँछ,' क्यानका अध्यक्ष सुरेशकुमार कर्णले भने।
क्यानले सफ्टवयर र प्रविधिको लागि केही गरेन भनेर प्रश्न उठाउनेहरुका लागि गतिलो जवाफ पनि हो यो मेला। हरेक माघमा हुने इन्फोटेकको क्रममा क्यानले नाफामुलक काममात्र गर्‍यो, पेनड्राइभ र कम्प्युटरमात्र बेच्न यस्तो मेला गर्‍यो भनेर आलोचना गर्नेका लागि सफ्टेकले जवाफ दिने अपेक्षा आयोजकको छ।
५१ स्टल रहेका क्यान सफ्टेकमा विशेष आकर्षण के छन् त? सर्वसाधारण र सूचना प्रविधिप्रति चासो राख्नेहरु कतातिर झुम्मिएका थिए त? तिनका विशेषता र नयाँ सेवा के छन् त?
काठमाडौंको जिपिएस एन-लोकेटः
गाडीमा यात्रा गर्दागर्दै पेट्रोल सकियो। नजिक पेट्रोल पम्प कता छ? अब तनाव लिनु आवश्यक छैन। काठमाडौंको जुनसुकै कुनामा भएपनि प्रयोगकर्ताको नजिकको पेट्रोल पम्पलाई एन-लोकेट एप्लिकेसनले जानकारी दिन्छ।
नेपवेजले बनाएर एन्ड्रोइडमा राखेको यो एप्लिकेसन गुगलप्लेबाट सित्तैमा डाउनलोड गर्न सकिन्छ। 'यो एप्स डाउनलोड गरेपछि आफ्नो नजिकको बैंक शाखा, रेष्टुरेन्ट, अस्पताल, बिभिन्न देशका दुतावासहरु, पार्टी प्यालेस, सपिङ मल, विमानस्थल, रिसोर्ट, बिद्यालयका बारेमा समेत जानकारी पाउन सकिन्छ,' नेपवेजका प्रमुख कार्यकारी अधिकृत दिपेन चापागाईले भने।
आफूले खोजेको सेवाको नजिकको ठाउँ र त्यो ठाउँमा जाने बाटो, दूरीलाई समेत एन-लोकेटलाई देखाउँछ। गुगलम्यापमा काठमाडौंको नक्सा भएपनि कुन सेवा कहाँ छ भन्ने बारेमा अहिलेसम्म सही जानकारी उपलव्ध छैन।
यो एप्लिकेसनले काठमाडौंको विवरणलाई व्यबस्थित गर्ने प्रयास गरेको छ। यसमा अहिले चलिरहेको क्यान सफ्टेकमा कुन स्टलमा के छ? सम्पर्क व्यक्ति को हो भन्ने जानकारी समेत राखिएको छ।
'डेढ महिनाभित्र यो एप्सलाई एप्पल (आइप्याड, आइफोन) मा समेत उपलव्ध गराउने तयारीमा छौं,' चापागाईले भने। एप्पलमा यो एप्सलाई राख्न लाग्ने शुल्क समेत नेपवेजले तिरिसकेको छ।
अहिले प्रोटोटाइप भर्सनमा उपलव्ध गराइएको यो एप्सलाई भविष्यमा अझै गहन र विज्ञापन समेत राख्न मिल्नेगरि बनाउने योजनामा कम्पनी छ।
पुस्तकालयको मुमोलसः
कलेजदेखि दिएर सार्वजनिक पुस्तकालयको निम्ति उपयोगी सफ्टवयरको खोजीमा हुनेलाई क्यान सफ्टेकमा 'मुमोलस' आएको छ। अन्तर्राष्ट्रिय स्तरको पुस्तकालयको लागि नेपालमै तयार गरिएको यो सफ्टवयरले किताबलाई अनलाइन बुकिङ गर्न मिल्छ।
'कुनै किताब लगेर तोकिएको मिति गुजि्रन लाग्यो भने एसएमएसबाटै जानकारी आउँछ,' मुमोलसको निर्माणमा संलग्न इरासफ्टका डिजाइनर एण्ड डेभलपर ओम खड्काले भने। सफ्टवयरका विज्ञ र पुस्तकालयका क्षेत्रमा लामो अनुभव भएकाहरुको सहकार्यबाट यो सफ्टवयर तयार गरिएको हो।
पुस्तकालयमा रहेका किताब, पत्रिकाहरुलाई बर्गिकरण गर्ने, नम्बर दिने, लिएको र बुझाएको विवरणलाई यसले निकै सजिलोसँग राख्छ।
काठमाडौं विश्वविद्यालय, सेन्ट जेभिएर स्कूल, सायम कलेजले यो सफ्टवयरको प्रयोग गर्दै आएका छन्।

यो सफ्टवयरले स्कूल, कलेज, पुस्तकालयलाई स्वचालित र व्यबस्थित बनाउने समेत खड्काले बताए। कम्पनीले भविष्यमा 'इ-लाइब्रेरी' को अवधारणालाई मुर्त रुप दिने गरि सफ्टवयर निर्माण गरिरहेको छ।
मर्कन्टाइलको भिस्याटः
दुर्गम गाउँमा इन्टरनेट पुर्‍याउन मर्कन्टाइलले सानो भिस्याट सार्वजनिक गरेको छ।
'थीन-राउट' नाम दिइएको यो भिस्याटले दुईसय ५६ किलोबिट प्रतिसेकेण्डको स्पिडमा देशको जहाँसुकै पनि इन्टरनेट दिनसक्छ। 'बैंकको एटिएमका लागि यो भिस्याट निकै प्रभावकारी ठहरिएको छ,' मर्कन्टाइलकी निता श्रेष्ठले भनिन्। दुइसय ४५ केबिपिएस आवश्यक नपर्नेलाई यसबाट एकसय २८ केबिपिएसमा झार्न पनि सकिन्छ।
दुईसय ५६ केबिपिएसको लागि भिस्याटको निम्ति एकलाख १० हजार रुपैयाँ पर्छ। मासिक शुल्क भने २७ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
दुर्गम स्थानमा रहेका स्कूल, कलेजहरुका लागि समेत यो भिस्याटले इन्टरनेट कनेक्सन गर्न निकै सजिलो हुने भएको छ।
बेलट्रोनिक्सको लेड प्रिन्टरः
बेलट्रोनिक्स ट्रेडिङ कम्पनीले लेजरभन्दा नयाँ प्रविधिको लेड प्रिन्टरलाई सफ्टेकमा सार्वजनिक गरेको छ। जुनसुकै बैंकिङ सफ्टवयरबाट समेत प्रिन्ट हुनसक्ने यो प्रिन्टर कार्बन शून्य हो।
'कतिपय नेपाली बैकिङ सफ्टवयरमा प्रिन्टरहरु चल्दैनन्, तोकिएकै प्रिन्टरमात्र चल्छन्, तर बेलट्रोनिक्सका प्रिन्टरहरु जुनसुकै सफ्टवयरमा पनि चल्छ,' कम्पनी सहायक महाप्रवन्धक सुवासचन्द्र घिमिरले बताए।
सफ्टेकको कागजरहित अफिसः
सरकारी कार्यालयमा सेवाग्राहीले निवेदन दर्ता गराएदेखि अन्तिमसम्म पुग्दा फाइलै हराउने समस्या पुरानै हो। यो समस्यालाई हल गर्न सफ्टेक फाउण्डेसनले 'पेपरलेस अफिस सिस्टम' ल्याएको छ।
'कामको फ्लो बढाउने र कार्यालयहरुलाई पुर्ण रुपमा कागज रहित बनाउने गरि यो सफ्टवयर बनाएका छौं,' फाउण्डेसनका निर्देशक फणिन्द्र निरौलाले भने।
निवेदन दर्ता गरेपछि कुन शाखामा आफ्नो कागजपत्र पुग्यो भन्नेसम्मको विवरण निवेदकले हेर्न मिल्ने हुँदा यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग गर्छ। अस्पतालमा बिरामीको रेकर्डलाई पनि कागजरहित रुपमा राख्नेगरि यो कम्पनीले सफ्टवयर बनाएको छ। जुन विवरणलाई बिरामी विश्वका जुन अस्पतालमा उपचारको लागि गएपनि आफ्नो 'पासवर्ड' प्रयोग गरेर हेर्न, डाक्टरलाई देखाउन सक्छ।
यो कम्पनीले कलेजको लागि व्यबस्थापन सूचना प्रणाली, होटलको लागि समेत उपयुक्त सफ्टवयर बनाएको छ। जसलाई अहिले सफ्टेकमा आउनेलाई देखाइरहेको छ।
सरकारी कार्यालयलाई कागजरहित बनाउने सफ्टवयरको मूल्य तीनलाख रुपैयाँमा पर्ने निरौलाले बताए।
इन्टरनेट सेवामा प्रतिस्पर्धाः
भायानेट, वेवसर्फर, सुविसुले सफ्टेक मार्फत सस्तो प्याकेज ल्याएका छन्। जहाँबाट ग्राहकले इन्टरनेटका बिभिन्न प्याकेजका बारेमा जानकारी लिन सक्ने सुविधा दिइएको छ।
कम्पनी दर्ताको जानकारीः
नयाँ व्यबसाय सञ्चालन गर्ने तयारीमा रहेका तर कसरी सुरु गर्ने भन्ने जानकारी नभएकाका निम्ति जानकारी लिने थलो हुनसक्छ क्यान सफ्टेक। कम्पनी रजिष्ट्रार कार्यालयले अनलाइनबाट कम्पनी दर्ता गर्ने तरिकादेखि लिएर लाइसेन्सको पुर्ण जानकारी दिनको लागि छुट्टै स्टल राखेको छ।
केही साता अघिमात्र अन्तर्राष्ट्रिय वित्त निगमको सहयोगमा सार्वजनिक गरिएको लाइसेन्स पोर्टल र त्यसभित्रका जानकारी दिनका लागि सरकारी निकायले स्टल राखेको हो।
सफ्टेकमा नेपाल प्रहरीले साइबर कानुन संबन्धि जनचेतना जगाउन स्टल राखेको छ। जहाँ इमेल, सामाजीक सञ्जाल (फेसबुक, टि्वटर आदी) को प्रयोगमा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको छ।
सफ्टेक मेलामा केबुल टिभी महासंघले अवलोकनकर्ताले डिजिटल प्रविधिको अनुभव गर्न सक्नेगरि स्टल राखेको छ।

स्रोत:- नागरिक  न्युज डट कम

No comments:

Post a Comment