इन्टरनेटमा स्वतन्त्रता खतरामा

Saturday
आमसञ्चार क्षेत्रका सरोकारवालाहरुले वाक् तथा अभिव्यक्तिको स्वतन्त्रताको संवैधानिक हक खतरामा रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ र इन्टरनेट सोसाइटी नेपालले गरेको अभिव्यक्ति स्वतन्त्रता र इन्टरनेट विषयक अन्र्तक्रियाका सहभागिहरुले इन्टरनेटको माध्यममा नागरिकको त्यसखालको स्वतन्त्रतामाथि खतरा रहेको बताएका हुन् ।
वाक् र अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा प्रविधिको विकासले अवसरसँगै विभिन्न चुनौती थपिएको उनीहरुले बताए । अन्र्तक्रियामा नेपालमा अनलाइन क्षेत्रमा नीतिगत सून्यता रहेको उनीहरुले भनाइ थियो । कार्यक्रममा सहभागी पत्रकार, ब्लगर र अनलाइन मिडिया सम्बद्धहरुले सामाजिक सञ्जाल र इन्टरनेटको व्यापक प्रयोगले मिडियाको मान्यता र प्रभावमा फरक पारेको बताए ।
कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष बाबुराम अर्यालले दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको जुनसुकै बेला जुनसुकै वेबसाइट बन्द गराउन लगाउने अधिकारका कारण इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रता खतरामा रहेको बताए । ‘प्राधिकरणले दिएको कुनै पनि वेबसाइट ब्लक गर्ने निर्देशन दिने र त्यसलाई सबै इन्टरनेट सेवा प्रदायकले मान्नुपर्ने अवस्था हुँदा त्यसले अभिव्यक्ति स्वतन्त्रतामा गम्भिर प्रभाव पार्छ’ अर्यालले भने । उनले देशमा रहेका मुख्य १० वटा इन्टरनेट सेवा प्रदायकलाई दिइने एउटै निर्देशनले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुन सक्ने अवस्था रहेको बताए । प्राधिकरणको इन्टरनेट तथा इमेल सेवा सञ्चालन सम्बन्धी निर्देशिकामा नै ‘सेवा संचालन सम्वन्धमा प्राधिकरणबाट समय समयमा दिएको निर्देशनको पालना गर्नू पर्नेछ’ भनिएको छ ।
पत्रकार महासंघ सदस्य तथा डिजिटल मिडिया संयोजक उज्ज्वल आचार्यले वाक् तथा अभिव्यक्ति स्वतन्त्रताका सन्दर्भमा इन्टरनेट सेवा प्रदायकलाई पनि सरोकारवाला निकायका रुपमा राख्नुपर्ने बताए । कार्यक्रममा हालै पत्रकार महासंघले पत्रकारहरुमाझ गरेको सोसल मिडिया सर्भेको सारांश पनि प्रस्तुत गरिएको थियो ।

No comments:

Post a Comment