सामसुङको नयाँ स्मार्टफोनमा के के विशेषता छन् ?

Wednesday
 साभार:- अनलाइन खबर
सामसुङ कम्पनीले उत्पादन गरेको नयाँ संस्करणको स्मार्टफोन ग्यालेक्सी एस थ्री आजदेखि नेपाली बजारमा आएको छ । गएको मे लण्डनमा सार्वजनिक गरिएको यो ग्याजेटलाई सामसुङ कम्पनीको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले नेपाली बजारमा ल्याएको हो । नेपाली बजारमा यसको मुल्य ६९ हजार तोकिएको छ ।
के के छन् ग्यालेक्सी एस थ्री का विशेषता ?
सामसङ कम्पनीको अघिल्लो संस्करणको स्मार्टफोन ग्यालेक्सी एसटू भन्दा यो फोन केही ठूलो छ । यसको ४ दशमलब ८ इन्च ठूलो स्क्रिन रहनुका साथै अन्य केही अत्याधुनिक विशेषता समेत रहेको बताइएको छ । यसमा स्मार्ट स्टे भनिने प्रविधिको उपयोग गरिएकाले खोलेपछि प्रयोगकर्ताले हेरुन्जेल स्क्रिन बन्द हुँदैन ।
यसको अर्को रोचक विशेषता भनेको एस भ्वाइस सेवा हो । वास्तवमा यो स्मार्टफोनमा प्रयोगकर्ताको आवाज मुताविक काम गर्ने एउटा सफ्टवेयर राखिएको हुन्छ । सो सफ्टवेयरले अलार्म अफ भन्ने जस्ता वाक्य बुझेर स्मार्टफोनमा लागेको अलार्म बन्द गर्छ । साथै कन्ट्याक्ट लिष्टमा भएको साथीलाई फोन गर्न अंग्रेजी भाषामा बोलेर निर्देशन दिएमा स्मार्टफोनमा भएको सफ्टवेयरले आफै फोन डायल गर्छ ।

यो स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जिबीको र्याम राखिएको छ भने ३२ जिबी सम्मको मेमोरी अटाउन सक्छ । गुगलको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टफोनको अर्को विशेषता भनेको मोबाइलमा फोन उठाउँदा कि प्याड थिच्नु पर्दैन । फोन कल आउँदा सेट कानमा लग्ने बित्तिकै फोन उठिहाल्छ । यो मोबाइल सेटमा ८ मेगापिक्सेलको क्यामेरा छ । यो स्मार्टफोनको अर्को फाइदा भनेको एकैपटक मोबाइल स्क्रिनमा दुइवटा काम गर्न सकिनु हो । स्क्रिनमा एकैपटक दुइवटा डिस्प्ले गर्न सकिन्छ । जस्तै कुनै इन्टरनेट साइट हेर्दै गर्दा अर्को भिडियो हेर्न मन लाग्यो भने पप अप प्ले मा भिडियो पनि हेर्न सकिन्छ । साथै यो स्मार्टफोनमा फेस अनलक नामको सेवा पनि उपलब्ध छ । जस अनुसार फोन सेटलाई खोल्न प्रयोगकर्ताको अनुहार प्रयोग गर्न सकिन्छ ।
कालो र निलो रंगमा उपलब्ध यो स्मार्टफोनमा प्लास्टिकको खोल छ । १ सय ३३ ग्राम तौलको यो फोनसेट ५.३८ इच्च लामो, २.७८ इन्च चौडा तथा ०.३४ इन्च मोटो छ । साथै यसले ४ जी नेटवर्कमा समेत काम गर्छ ।
सामसुङ ग्यालेक्सी एस थ्री का अन्य विशेषता निम्न छन् ः
१. एडोब फ्लास सफ्टवेयरमा भिडियो तथा आवाज प्ले गर्नसक्छ ।
२. कम्प्युटर तथा अन्य ग्याजेटमा प्रयोग हुने सामान्य युएसबी केबल प्रयो गरेर ब्याट्री चार्ज गर्न सकिन्छ ।
३. यसमा वायरलेस चार्जिङ सेवा छ । कुनैपनि प्लग वा तारबिना नै चार्जिङ गर्न सकिन्छ ।
४. यसको ब्याट्री फेर्न सकिने सुविधा छ साथै यसको ब्याट्रीको क्षमता पनि उच्च छ ।
५. यसबाट एचडिएमआइ सेवा छ । जस अन्तरगत स्मार्टफोनमा बजाइएका भिडियोहरु टेलिभिजनमार्फत हेर्न सकिन्छ ।


साभार:- अनलाइन खबर

No comments:

Post a Comment