एप्पल कम्पनीले धेरैको आकर्षण बनेको आइफोन फाइभ सार्वजनिक गरे लगत्तै
नेपाली ग्याजेटप्रेमीहरु निराश भए। कारण? यसमा नानो सिम लाग्ने बनाइएको छ।
त्यस्तो सिम, जुन सिम नेपालका कुनै पनि टेलिकम कम्पनीहरुले बनाएकै छैनन्।
नानो सिम आकारमा मात्र सानो नभएर पातलो पनि हुन्छ। त्यसैले यसअघि माइक्रो
सिम बनाउन रेगुलर सिमलाई काटे जस्तै काटे पनि पातलो बनाउन नसकिने तर्क
गरिएको थियो। बजारमा कसैको हातमा आइफोन फाइभ परिनसकेकोले यसै हो भन्न
सक्नेहरु पनि कोही थिएनन्।

एप्पलले आइफोन फाइभ सात देशमा बिक्री सुरु गरेपछि ती देशका
ग्याजेटप्रेमीहरुले आफ्नो ब्लगमा, टेक रिपोर्टरहरुले आफ्नो वेबसाइटमा दिएको
जानकारीका आधारमा भन्न सकिन्छ, नेपालमा पनि अहिले चलिरहेकै सिमलाई काटेर
आइफोन फाइभ चलाउन सकिन्छ। कसैले नानो सिम नेपालमा नभएकै कारण आइफोनको
पछिल्लो संस्करण चलाउनबाट वञ्चित हुनुपर्दैन, ढुक्क हुनुस्। आइफोन फाइभको
नानो सिम राख्ने ठाउँले मोटो सिम पनि लिने भएकोले सिमको बाक्लोपनाले समस्या
गर्दैन। मोटाइ हैन आकार मात्रै सानो बनाए पुग्छ। ठीक लम्बाई र चौडाई
मिलाएर काट्ने हो भने नेपाल टेलिकमले १०० रुपियाँ लिएर दिने माइक्रो सिमलाई
नै नानो सिम बनाउन सकिन्छ।
अहिले विभिन्न वेबसाइटमा रेगुलर वा माइक्रो सिमलाई कसरी नानो सिम बनाएर काट्ने भन्ने बारे जानकारीहरु राखिएका छन्। यहाँ हेर्नुस्
http://bit.ly/SiEJhV युट्युबमा भिडियो राखिएका छन्। हेर्नुस्
http://bit.ly/NN8qXB
सिम
काट्दा अलि ध्यान भने दिनुपर्छ। बजारमा सिम कटर पनि आइसकेका छन्। त्यसैले
नेपाली बजार मै कसैले नानो सिम काटिदिने सेवा पनि सुरु भएको देख्न धेरै समय
पर्खन पर्दैन।
स्रोत:- नागरिक न्युज डट कम