Nepali Information Software and Technology News(NIST News)
🌙

गाउँ - गाउँमा सस्तो सेवा दिने तयारीमा नेपाल स्याटलाइट


टेलियासोनेराले नेपाल स्याटलाइटको सेवा विस्तार ग्रामीण क्षेत्रमा केन्द्रित हुने बताएको छ । केही महिनाअघि नेपाल स्याटलाइटको मुख्य सेयर किनेपछि पहिलो पटक नेपाल आइपुगेका टेलियासोनेराका उच्च अधिकारीहरूले स्याटलाइटको सेवा सहरमा भन्दा ग्रामीण क्षेत्रमा सस्तो सेवा दिन केन्दि्रत हुने बताए ।
टेलियासोनेराको एनसेलमा पनि मुख्य लगानी छ । स्याटलाइटले 'हलो नेपाल' ब्रान्डमा ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गरिरहेको छ । 'ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको माग बढिरहेको छ,' टेलियासोनेरा युरेसियाका अध्यक्ष टेरो किभिसारीले भने, 'एनसेलले अहिलेको जस्तै सहरी क्षेत्रमा केन्दि्रत हुने छ । स्याटलाइटले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्छ ।' सेवा विस्तारको क्रममा कानुनी र प्राविधिक रूपमा सम्भव भए दुई कम्पनीबीच पूर्वाधार बाँडफाँड गर्ने उनले बताए । 
Web hosting
राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा टेलिसोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लार्सनाइबर्ग (दायाँ) र कम्पनीका युरोएसिया अध्यक्ष टेरो किभिसारी । तस्बिर: कान्तिपुर

सोमबार आयोजित कार्यक्रममा दुई कम्पनीमा लगानी गरेर बजार एकाधिकार गर्न खोजेको हो भन्ने प्रश्नमा टेलियासोनेराका प्रमुख कार्यकारी अधिकृत लार्स नाइबर्गले आफूले अन्य देशमा पनि यस्तो लगानी गरकाले
नेपालको लगानी सामान्य भएको बताए । 'बजार परिपक्व हुँदै जाँदा एकभन्दा बढी कम्पनीमा लगानी गर्नु प्रभावकारी हुन्छ,' उनले भने, 'नेपालको मोबाइल घनत्व पनि ६० प्रतिशत मात्र छ ।'
टेलियासोनेराको लगानी आएपछि ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स पाएको स्याटलाइटले गत महिना सेवा विस्तार तीव्र गर्ने जनाएको थियो । उसले पूर्वाधार निर्माणका लागि चिनियाँ कम्पनी जेडटीईसँग पनि सम्झौता गरिसकेको छ ।
तर टेलियासोनेराका अधिकारीहरूले स्याटलाइटको लगानीको बारेमा स्पष्ट पारेनन् । उनीहरूले लाइसेन्स सर्तअनुसार काम हुने जनाएको छ । हाल रहेको स्याटलाइटको व्यवस्थापन समेत परिवर्तन गरिने जानकारी कम्पनीले दिएको छ । किभिसारीले नेपाल स्याटलाइट पनि एनसेल जस्तै गुणस्तरमा केन्दि्रत हुने दाबी गरे ।
प्रकाशित मिति: २०६९ भाद्र  (कान्तिपुर)