बैंकलाई मोबाइलमा अटाउने तयारी

Sunday
काठमाडौं, असार ६ - ग्राहकलाई मोबाइलबाटै अधिकांश बैंकिङ कारोबार गर्न सक्ने सुविधा दिन चार वाणिज्य बैंक र एक फाइनान्स कम्पनीले काम अघि बढाएका छन् । लक्ष्मी, बैंक अफ काठमाडौं, सिद्धार्थ र कमर्ज एन्ड ट्रस्ट बैंकसँगै इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीले यस्तो सेवा सुरु गर्न लागेका हुन् ।
यो सेवाबाट ग्राहकले एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण, निक्षेप राख्ने र झिक्ने लगायत काम गर्न सक्छन् ।
यी सबै सुविधा पहिलो चरणमै उपलब्ध भने हुने छैनन् । यस्तो सेवाका लागि यी संस्थाले फिनासेस नामक कम्पनीसँग सम्झौता गरेका छन् ।
'एक बैंकबाट अर्कोमा रकम पठाउने सुविधा पहिलो पटक मोबाइलबाटै सम्भव हुने भएको छ,' फिनासेसका संजय शाहले भने, 'बैंकहरूले थप सुविधा बढाउँदै लैजान सक्छन् ।'
मोबाइलबाट हुने यस्तो कारोबार सेवालाई हेलो पैसाको ब्रान्ड नाम दिइएको छ । यसअघि मोबाइलबाट केही बैंकका ग्राहकले साधारण सेवा मात्र उपभोग गर्न पाउँथे । कम्पनीले प्रतिसेकेन्ड ५० वटा कारोबार गर्न सकिने क्षमता रहेको जनाएको छ । 'कारोबार बढ्दै गएपछि यसलाई वृद्धि गर्न सकिन्छ,' शाहले भने ।
मोबाइलबाट यस्तो सेवा उपभोग गर्न जुनसुकै कम्पनीको सिम प्रयोग गर्न सकिने साहले बताए । कम्पनीले अन्तर्राष्ट्रिय अध्ययनबाट स्वदेशी सफ्टवेयर निर्माण गरेर सेवा उपलब्ध गराएको जनाएको छ । 'शुल्क, सेवा, मुलुकको बैंकिङ प्रणालीको आवश्यकता लगायत कारण विदेशी सफ्टवेयर प्रयोग गर्नभन्दा आफ्नै निर्माणमा लागेका हौं,' शाहले भने ।
मोबाइलबाट कारोबार गर्न सकिने सफट्वेयरलाई बैंकहरूले आफ्नो प्रणालीमा जोड्छन् । त्यसपछि बैंकहरूले मोबाइलबाटै गर्न सकिने कारोबारका सेवा ग्राहकलाई उपलब्ध गराउँछन् । यस्तो सेवामा मोबाइललाई 'वालेट' का रूपमा प्रयोग गरिन्छ । कम्पनीका अनुसार लक्ष्मी बैंकले सिन्धुपाल्चोकमा यसको परीक्षण गरिरहेको छ ।
विभिन्न मुलुकमा मोबाइलबाट बिभिन्न बैंकिङ कारोबार गर्ने सेवा सुरु गरिएको छ । यस्तो सेवामा बैंकले विभिन्न एजेन्ट नियुक्त गर्ने गर्छ । यस्ता एजेन्टले निक्षेप झिक्न र राख्न सहयोग गर्छन् । यसका साथै मोबाइलबाटै शुल्क भुक्तानी गर्न सकिने सेवा पनि सुरु गर्न सकिन्छ ।
फिनासेसले बैंकलाई मोबाइल बैंकिङको प्लाटर्फम उपलब्ध गराउने र व्यावसायिक मोडल तयार गर्ने काम गरिरहेको उल्लेख गरेको छ । सेवा उपलब्ध गराए पनि कारोबारको सबै जानकारी र जिम्मा भने सम्बन्धित बैंकसँगै हुन्छ । वित्तीय सेवा विस्तारमा मोबाइल बैंकिङले सहयोग गर्ने कम्पनीले जनाएको छ । 'यो सेवा चेककै अर्को रूप हो भनेर बुझ्न सकिन्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करणणि ज्ञवालीले भने, 'भुक्तानी लगायत सेवा सजिलो बनाउन यसको प्रयोग गरिन्छ ।'
मोबाइल बैंकिङबाट बैंक नपुगी सेवा लिन सकिने उनले बताए । 'हामीले यस्ता सेवालाई अनुमति दिइरहेका छौं,' उनले भने, 'यसबारे छिट्टै निर्देशन जारी गर्ने तयारीमा छौं ।'

प्रकाशित मिति: २०६९ असार ६ ०९:०८ (कान्तिपुर)

No comments:

Post a Comment

Loading...